


माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो ।

२ वटा ट्रकमार्फत केही सामग्रीहरू माडी आइसकेका छन् भने पुलका लागि आवश्यक लठ्ठा अझै आउन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । मौसम अनुकूल रहेमा श्रावण महिनाभित्रै बाँकी सामग्री पनि माडी आइपुग्ने र काम सुरु गरिने बताइएको छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, ललितपुरद्वारा माडी नगरपालिका-३, सिमरा जाने बाटोको रीउ खोलामा निर्माण सुरु गरिएको सो झोलुङ्गे पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । २०७८ मंसिर २३ गते शिलान्यास गरिएको ३३६ मिटर लामो झोलुङ्गे पुल निर्माणमा निरन्तरता नहुनाले काम ढिलो हुँदै आएको छ ।
पुल निर्माण सम्पन्न नहुँदा सिमरा क्षेत्रका करिब ७५ घरपरिवार अझै पनि दैनिक रुपमा जोखिम मोलेर खोला तर्न बाध्य छन् । बर्षातको समयमा खोला पार गर्ने झनै कठिन हुने भएकाले स्थानीयवासीहरू पुल छिटो निर्माण सम्पन्न गरिनुपर्ने माग गर्दै आएका छन् ।
